श्रीमतीतनुमाया सुनार विश्वकर्मालाई असम गौरव पुरस्कार २०२५
एउटा सामान्य सुरुवातलाई पुरस्कारप्राप्त उद्यममा रूपान्तरण गर्ने ग्रामीण महिला उद्यमीको प्रेरणादायी यात्रा।
डिमो शिवसागर : आफ्नो व्यक्तिगत खर्च जुटाउन छिमेकीहरूलाई दैनिक दुईदेखि तीन लिटर काँचो दूध बिक्री गरेर सुरु भएको यात्रा आज करिब २० जनालाई प्रत्यक्ष रोजगारी दिने डेरी उद्योगसम्म पुगेको छ। यो तनु माया सुनार विश्वकर्माको आत्मविश्वास, निरन्तर परिश्रम र उद्यमशील दूरदर्शिताको प्रेरणादायी कथा हो। उनको यस उपलब्धिको कदर गर्दै असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा द्वारा शुक्रबार घोषित प्रतिष्ठित असम गौरव पुरस्कार २०२५का लागि उनलाई छनोट गरिएको छ।
असमको शिवसागर जिल्लाअन्तर्गत डिमोको नाउहाटा, निताई रोड निवासी विश्वकर्माले सन् २०१४ मा एउटा गाईबाट आफ्नो उद्यमशील यात्रा सुरु गरेकी थिइन्। व्यक्तिगत खर्च जुटाउने उद्देश्यले सुरु गरेको सानो प्रयास क्रमशः ‘जशुदा डेरी एन्ड स्वीट्स ’ (Jashuda Sweets & Dairy) नामक व्यवसायमा विकसित भयो। आज यस उद्यमले रोजगारी सिर्जना गर्नुका साथै गाउँका साना दुग्ध उत्पादक किसानहरूका लागि दूध बिक्री गर्ने बजारसमेत उपलब्ध गराएको छ।
{ सामान्य सुरुवातदेखि डेरी उद्योगसम्म }
आफ्नो व्यवसाय विस्तार गर्न थप गाईवस्तु खरिद गर्ने विकल्पमा मात्र सीमित नरही विश्वकर्माले गाउँका अन्य परिवारहरूमा रहेको सम्भावनालाई पहिचान गरिन्। गाउँका धेरै परिवार एक–दुईवटा गाई पालेर जीविकोपार्जन गर्थे, तर उनीहरूलाई उत्पादित दूध बिक्री गर्न भरपर्दो बजारको आवश्यकता थियो। उनले ती किसानहरूबाट दूध सङ्कलन गर्न थालिन्। यसरी स्थानीय दूध उत्पादकहरूलाई बजारसँग जोड्दै आफूले दूध प्रशोधन तथा मूल्य अभिवृद्धिमार्फत व्यवसाय विस्तार गर्ने लक्ष्य लिइन्।
उनको उद्देश्य काँचो दूध बिक्रीमा मात्र सीमित नरही दिगो डेरी व्यवसाय स्थापना गर्नु थियो। जशुदा डेरी एन्ड स्वीट्स बाट सुरुवात घरको बरन्डामा परिवारका सदस्यहरूले रसगुल्ला बनाउन थालेपछि भएको थियो। क्रमिक विस्तार र दूधबाट बन्ने मिठाई तथा अन्य दुग्धजन्य उत्पादनमा केन्द्रित हुँदै गएको यो सानो घरेलु प्रयास अन्ततः डेरी उद्योगमा परिणत भयो। आफ्ना श्रीमानको सहयोगमा उनले व्यवसायलाई विस्तार गर्दै लगिन्। आज यस उद्यमले आफ्ना बिक्री केन्द्रहरूसहित करिब २० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। हाल यसका दुईवटा बिक्री केन्द्र सञ्चालनमा छन एउटा नाउहाटामा र अर्को डिमो बजार क्षेत्रमा। स्थानीय किसानबाट दूध सङ्कलन गरी त्यसलाई उपभोक्तासम्म पुर्याउने यस व्यवसायले उनको आफ्नै परिवारभन्दा बाहिरका अन्य परिवारहरूका लागि समेत आर्थिक अवसर सिर्जना गरेको छ।
{ संस्थागत अनुप्रेरण र सरकारको सहयोग }
विश्वकर्माको दृढ सङ्कल्पसँगै विभिन्न संस्थागत सहयोगले पनि उनको व्यवसाय विस्तारमा भूमिका खेलेको छ। उनी भारतीय प्रबन्धन संस्थान कलकत्ता (IIM Calcutta) सँग सम्बद्ध एक उद्यम प्रवर्द्धन तथा इन्क्युबेसन कार्यक्रममा सहभागी भएकी थिइन्। उक्त कार्यक्रममार्फत उनले डेरी उद्योग स्थापना गर्न इन्क्युबेसनसम्बन्धी आर्थिक सहयोग तथा मार्गदर्शन प्राप्त गरेको बताइएको छ।
यसका अतिरिक्त, उनले असम सरकारको असम राज्य ग्रामीण जीविकोपार्जन अभियान (ASRLM) बाट सहयोग प्राप्त गरिन्। उनी महिला स्वयं सहायता समूहका योग्य सदस्यहरूमा उद्यमशीलता र दिगो आम्दानी प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘लखपति बाईदो योजना’, अर्थात् मुख्यमन्त्री महिला उद्यमिता अभियान (MMUA) अन्तर्गत पनि छनोट भएकी थिइन्।
उनको यात्राले व्यक्तिगत पहल, पारिवारिक सहयोग, संस्थागत मार्गदर्शन र स्पष्ट व्यावसायिक दृष्टिकोण एकसाथ आउँदा ग्रामीण स्तरमा सुरु भएको सानो उद्यम कसरी विस्तार हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
{ महिला उद्यमीहरूका लागि प्रेरणा }
विश्वकर्माको उपलब्धिले आत्मनिर्भर बन्न चाहने किशोरीहरू, बुहारीहरू तथा महिला उद्यमीहरूलाई एउटा महत्त्वपूर्ण सन्देश दिएको छ। उद्यमशीलता सुरु गर्न सधैँ ठूलो पुँजी वा अत्याधुनिक पूर्वाधार आवश्यक पर्दैन। एउटा सामान्य विचार, उपलब्ध स्रोतसाधन र पहिलो कदम चाल्ने साहसबाट पनि सफलताको यात्रा सुरु गर्न सकिन्छ। स्थानीय किसानबाट दूध सङ्कलन गरी मूल्य अभिवृद्धिमार्फत रोजगारी सिर्जना गरेर उनले आफ्नो व्यवसायलाई समुदायका अन्य परिवारहरूको आर्थिक उन्नतिसँग पनि जोड्न सफल भएकी छन्।
स्थानीय पत्रकारहरू उनको प्रतिष्ठानमा पुगेर असम गौरव पुरस्कारका लागि छनोट भएको खबर सुनाउँदा उनी आश्चर्यचकित भएकी थिइन्। उनले आफ्नो सफलतामा दूध आपूर्ति गर्ने किसानहरू तथा व्यवसायसँग जोडिएका अन्य व्यक्तिहरूले समेत खुसी व्यक्त गरेको बताईन्।
स्मरण रहोस् असम गौरव पुरस्कार राज्यको तेस्रो सर्वोच्च नागरिक सम्मान हो। यसभन्दा माथि असम विभव र असम सौरभ पुरस्कार रहेका छन्। उनको छनोटले सामान्य घरेलु गतिविधिबाट सुरु भएको व्यवसायलाई निरन्तर परिश्रम, नवीन सोच र विस्तार गर्ने दृढ इच्छाशक्तिका माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्यममा रूपान्तरण गर्न सकिन्छ भन्ने तथ्यलाई उजागर गरेको छ।
{ गोर्खा समुदायका लागि नयाँ प्रेरणा }
परम्परागत रूपमा पशुपालन, दुग्ध उत्पादन र कृषिसँग जोडिएको समुदाय जसलाई नेपाली ग्राजिएर एण्ड कल्टिवतोर्स भनिन्थ्यो, यस पृष्ठभूमि बाट आएकी श्रीतनुमाया सुनार विश्वकर्माले परम्परागत जीविकोपार्जनलाई आधुनिक उद्यमशीलतासँग जोड्न सकिने प्रेरणादायी उदाहरण प्रस्तुत गरेर आफ्नु पूर्वज चिनिने कार्यलाई व्यवसायकरण गरी आजको नवीनतम गोर्खाको परिचय दिएकी छिन् । सामान्य आर्थिक पृष्ठभूमिबाट अगाडि बढेकी उनले ग्रामीण महिलाहरूले परम्परागत जीविकोपार्जनमा मात्र सीमित नरही रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र व्यापक पहिचान प्राप्त गर्ने व्यवसाय स्थापना गर्न सक्छन् भन्ने प्रमाणित गरेकी छन्।
उनको उपलब्धि गोर्खा समुदायका लागि गौरवको विषय हो। साथै, आफ्नो परिवारको आर्थिक उन्नतिमा योगदान पुर्याउँदै आत्मनिर्भर बन्न र समाजको विकासमा भूमिका निर्वाह गर्न चाहने नयाँ पुस्ताका महिलाहरूका लागि यो एउटा प्रेरणादायी उदाहरण पनि हो। श्रीमतीतनु माया सुनार विश्वकर्माको यो सफलताले सामान्य सुरुवातले भविष्यको सम्भावनालाई सीमित गर्दैन भन्ने सन्देश दिएको छ। दृढ सङ्कल्प, स्पष्ट दृष्टिकोण र निरन्तर परिश्रमका साथ अघि बढ्न सके एउटा सानो उद्यम पनि जीविकोपार्जन, आत्मसम्मान र सामुदायिक प्रेरणाको स्थायी आधार बन्न सक्छ।

Post a Comment